Photo

बाइबलीय ईश्वरशास्त्र भनेको के हो ? यसमा हुनुपर्ने गुणहरू के के हुन् ?

परमेश्वरको विशेष प्रकाशको सुरुवात देखि पूर्णता‚ पुनर्स्थापना र समापनको क्रमश: खुलासा हो ।

RC / July 05, 2025

बाइबलको कुनै एक विशेष विषय वा विषयवस्तु कसरी शुरु भयो‚ र कसरी समयसँगै त्यसको विकास भयो‚ र त्यसले आकार र स्वरूप लियो र समयको अवधिमा बाइबलको त्यस विषयमा परिवर्तन आयो‚ र त्यसको तत्कालीन सन्दर्भ कसरी बाइबलको कथा रेखामा बग्छ र त्यसले कसरी येशूको व्यक्तित्व र कार्यमा ( सुसमाचार: येशूको जन्म‚ जीवन‚ मृत्यु‚ पुनरुत्थान‚ स्वर्गारोहण‚ राज्य अभिषेक‚ महिमिकरण र पिताको दाहिने हातमा विराजमान ) मा गएर सम्बन्धित हुन्छ र अन्त्यमा यस विषय कसरी प्रकाशको पुस्तकमा समापन र पूरा भएको छ भन्ने कुराको अध्ययन गर्नु नै बाइबलीय ईश्वरशास्त्र हो । जसले चाहीँ बाइबलमा भएका ६६ वटा पुस्तकहरु एउटै मुख्य विषय ( उद्धार ) र व्यक्ति ( येशू ख्रीष्ट ) मा केन्द्रीत छ भन्ने कुरालाई देखाउँछ ।


बाइबलको सुरुको पुस्तक उत्पतिमा र अन्तिम पुस्तक प्रकाशमा एउटै भनाई पाउँछौँ । जसले गर्दा बाइबल एउटा पूर्ण परमेश्वरको पुस्तक हो । जस्तै‚ उत्पतिमा शैतानको प्रवेश‚ मानिस र परमेश्वरको सम्बन्ध बिग्रिएको‚ स्वर्गीय जीवन नष्ट भएको‚ श्रापको शुरु‚ द्वन्द्वको सुरुवात‚ स्वर्ग र पृथ्वी पुरानो भएको तर अन्तिम पुस्तक प्रकाशमा शैतान नष्ट भएको‚ मानिस र परमेश्वरको सम्बन्ध पुनस्थापना भएको‚ स्वर्गीय जीवन फेरी आएको‚ श्रापको अन्त्य‚ स्वर्ग र पृथ्वीको नवीकरण भएको । यसकारण बाइबल एउटा पूर्ण पुस्तक हो ।


बाइबल ईश्वरीय प्रेरणा द्धारा लेखिएको परमेश्वरको कथा हो । २ तिमाथी ३:१६–१७‚ २ पत्रुस १:२०–२१‚ भजन १२:६ बाइबलले आफ्नो कथालाई विभिन्न साहित्यिक शैलीहरु प्रयोग गरी परमेश्वरले इतिहासमा गर्नुभएको उद्धारको कार्यको एउटा कथालाई बताउँछ । बाइबलका ६६ वटा पुस्तकहरू ४० भन्दा बढी लेखकद्वारा १५०० वर्षको अवधिमा तिन वटा महादेश एशिया‚ युरोप र अफ्रिका महादेशमा लेखिएको हो । ति लेखकहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर लेखेका थिए । जसकारण विभिन्न लेखक‚ विभिन्न कालखण्डमा र विभिन्न भौगोलिक क्षेत्रमा भएर लेखेतापनी बाइबलका पुस्तकहरू एकअर्कामा विरोधाभास छैन तर एउटै विषयवस्तु र एउटै कथा छ ।


बाइबल परमेश्वरको वचन हो भन्ने कुरा सबै ख्रीष्टियानहरू विश्वास गर्छन अनि दिनहुँ पनि पढ्छन् । तर पनि बाइबल कसको विषयमा लेखिएको पुस्तक हो भन्ने कुरा धेरैजनाले बुझेका हुँदैनन् । त्यस्ता मानिसहरूको विषयमा येशूले यहुदीहरुलाई भनेझैँ भन्नुहुन्छ युहन्ना ५:३९–४० तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ‚ किनभने त्यहाँ अनन्त जीवन पाईन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन‚ तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ । येशू ख्रीष्ट स्वयम्‌ आफैले बाइबल कसको बारेमा हो भन्ने कुरालाई स्पष्ट पारिदिनुभएको छ । उहाँले तिनीहरूलाई भन्नुभयो‚ “ए अबुझ मानिस हो‚ तिमीहरूका हृदय यति सुस्त भएको छ‚ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ! के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?” तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो । लुका २४:२५–२७ उहाँले तिनीहरूलाई भन्नुभयो‚ “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्‌‚ अर्थात् मोशाको व्यवस्था‚ अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।” तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको ;dem खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो‚ “यसो लेखिएको छ‚ कि ख्रीष्टले दु:ख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ । लुका २४:४४–४६


बाइबलीय ईश्वरशास्त्रमा हुनुपर्ने गुणहरु निम्न रहेका छन ।


  1. बाइबल व्यापक कथा हो: यसको कथा धर्मशास्त्रको ठूलो कथामा अटाउनुपर्छ ।
  2. यसले हामीलाई बाइबललाई आधारित गर्ने ठूलो चित्र र विषयवस्तुहरू हेर्न मद्दत गर्छ ।
  3. परमेश्वरको विशेष प्रकाशको सुरुवात देखि पूर्णता‚ पुनर्स्थापना र समापनको क्रमश: खुलासा हो ।
  4. यसले ख्रीष्ट–केन्द्रित दृष्टिकोणलाई केन्द्रित गर्छ: येशू पुरानो करार र नयाँ करारकोे बाइबलीय ईश्वरशास्त्रको मुटु र मुटुको धड्कन हुनुहुन्छ:
  5. बाइबलीय ईश्वरशास्त्र ख्रीष्ट केन्द्रितमात्रै (Messianic) होइन‚ तर ख्रीष्टको मिसन केन्द्रित (Messilogical) पनि हो !
  6. यो पवित्रशास्त्र र तिनका लेखकहरूको एकता र विविधतामा केन्द्रित छ।
  7. बाइबलका लेखक एउटै भएको हुनाले सबै एक अर्कासँग सहमत हुन्छ‚ कहिल्यै विरोधी हुँदैन् ।
  8. बाइबलको संरचना वा मेरुदण्ड करारको ईश्वरशास्त्र हो‚ त्यसैले बाइबलीय ईश्वरशास्त्रलाई करारको ईश्वरशास्त्रमा फ्रेम गरिएको हुनुपर्छ: एउटै सुनको सिक्रीमा गाँसिएको ६६ वटा मोतीहरुको भव्य गहना !
  9. नयाँ करारमा पुरानो कराकको उद्धरणहरू बाइबलीय ईश्वरशास्त्रलाई बुझ्ने सहि तरिका हो
  10. यो बाइबलीय विषयवस्तुको ऐतिहासिक तत्काल सन्दर्भ र भविष्यको सन्दर्भमा केन्द्रित छ ।
  11. यसले प्रकारशास्त्र ( Typology )‚ विपरित प्रकारशास्त्र‚ अलङ्कारहरु‚ प्रतीक‚ रूपक‚ र उनीहरूले ख्रीष्टमा कसरी आफ्नो पूर्णता पाउँछन् भन्ने कुरामा विशेष जोड दिन्छ।
SHARES